Welcom

Friday, April 8, 2016

कति फूलहरू गर्भवती भए मैले देख्दा देख्दा देख्दै यो चैत महिनामा

निबृत्त हुदा त जीवन सुनसान जंगलको शान्त तलाउ जस्तै हुने रहेछ । म आज भोली निकै संलिएको पानी जस्तै भाछु कंचन । हुनत मलाई बेगले बग्नु पनि छैन । किन धमिलिउ? अनि ध्यानमा बरफ झै जान्नु पनि छैन । मनको मर्जी समयसंगै संगलिन छोडिदिए को छु आफूलाई । न आग्रह छ न पूर्वाग्रह । न लिनु छ कोही कसैसंग न दिनु । न आश न त्रास । तैपनि मनै त हो बहकिन्छ मेरो पनि यदाकदा बिरलै । लागेको लामो बानी न हो । त्यसैले आफूलाई मन परेको सौन्दर्यको नशा पिउछु एकलै बसेर धितमर्ने गरी । सायद यही यौटा मेरो कमलो कमजोरी हो क्यारे । मेरो कमजोरी भनौ या सौन्दर्यको आकर्षक गुरूत्वाकर्षण भनौ । यो सौन्दर्यको मतमताउदो रसमा मेरो रसना नभिजेको सायद सांझ पनि छैन । जताततै देख्छु अनि सोच्छु किन यी सबै सुन्दर दृष्यहरु बातावरण नै मगमगाउदो गरी यति बिघ्न कामुक भएर फूलझै फक्रिरहेका ? मत प्रत्तेक सौन्दर्य आतुर देख्छु सौन्दर्यको गर्भधारण गर्न अनि अनन्त सौन्दर्य जन्माउन । कति फूलहरू गर्भवती भए मैले देख्दा देख्दा देख्दै यो चैत महिनामा । यति मीठो र रमाईलो यो जीवन र जगतमा प्रकृतिको यति सुन्दर लिला भित्रको लिला म कसरी पसुं कुरूप दूलो भित्र । मत लुक्छु यति कतै यही धर्तीको मनपरेको सौन्दर्यको बर्को ओडेर ।

No comments: